काठमाडौं- आकर्षक रोजगारी र राम्रो आम्दानीको प्रलोभनमा भारतको उत्तर प्रदेशस्थित कुशीनगर
पुर्याइएका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ। नेपाल प्रहरी, भारतीय प्रहरी तथा
भारतस्थित नेपाली दूतावासको समन्वयमा सञ्चालन गरिएको उद्धार अभियानपछि उनीहरूलाई नेपाल
फर्काइएको हो।
प्रारम्भिक अनुसन्धानका अनुसार नेपालका
करिब ४० जिल्लाका बेरोजगार युवा-युवतीलाई सामाजिक सञ्जाल र चिनेजानेका व्यक्तिमार्फत
राम्रो रोजगारी दिलाइदिने आश्वासन दिएर भारत लगिएको थियो। तर त्यहाँ पुगेपछि उनीहरूलाई
कुनै रोजगारीमा नभई अवैध नेटवर्किङ तथा ठगीको योजनामा संलग्न हुन बाध्य पारिएको खुलेको
छ।
भारतीय प्रहरीले मध्यरातदेखि करिब चार
घण्टासम्म सञ्चालन गरेको विशेष अभियानमा कुशीनगरका आठ वटा घरमा छापा मारेर नेपाली नागरिकको
उद्धार गरेको थियो। उनीहरूलाई ती घरमा समूह-समूहमा राखिएको, नयाँ सदस्य ल्याउन
दबाब दिइएको र अस्वीकार गर्नेहरूलाई मानसिक दबाब तथा धम्की दिइएको अनुसन्धानबाट खुलेको
छ।
प्रहरीका अनुसार पीडितहरूबाट भारतीय
रुपैयाँ ७ हजारदेखि १ लाखसम्म सदस्यता शुल्क असुल्ने गरिएको थियो। त्यसपछि प्रत्येकलाई
थप नेपालीलाई भारत ल्याएर नेटवर्क विस्तार गर्न दबाब दिने गरिएको थियो। लक्ष्य पूरा
गर्न नसक्नेहरूलाई घर फर्कन नदिने र परिवारसँग समेत पैसा माग्न बाध्य पारिएको पीडितहरूले
बताएका छन्।
उद्धार गरिएका ४५३ जनामध्ये ११५ महिला
र ३३८ पुरुष रहेका छन्। उनीहरूलाई आठ वटा बसमार्फत बेलहिया नाका हुँदै नेपाल ल्याइएको
हो। आवश्यक विवरण संकलनपछि अधिकांशलाई परिवारको जिम्मा लगाइएको छ भने घटनामा संलग्न
रहेको आशंकामा केही व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले यो घटना मानव बेचबिखन, संगठित आर्थिक ठगी
र अवैध नेटवर्किङ कारोबारसँग सम्बन्धित हुन सक्ने भन्दै यसको मुख्य योजनाकार र सञ्जालबारे
थप अनुसन्धान भइरहेको जनाएको छ। साथै,
आकर्षक रोजगारीको प्रलोभनमा नपरी वैदेशिक रोजगारीका लागि सरकारी स्वीकृत प्रक्रिया
मात्र अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
यो घटनाले नेपालमा बढ्दो बेरोजगारी, सीमित रोजगारीका
अवसर र छिटो आर्थिक रूपमा सफल बन्ने आकांक्षा, छिमेकी छोरा छोरीले कमाए तैँले किन कमाउँदैनस भन्ने परिवारको आर्थिक दवावका आदि खेपी रहेको युवालाई राम्रो पैसा कमाई हुने भन्दै प्रलोभन देखाई सङ्गठित गिरोहले ठगीमा पारी रहेको देखिन्छ ।