दोलखाको चरिकोटबाट सुरु भएको यात्रा: अमेरिकामा इतिहास बन्यो, सातौँ डान प्राप्त गर्ने पहिलो नेपाली बने सिहान शान्त थोकर

Tsheringma Sherpa

अमेरिका-  कुनै पनि उपलब्धि एकै दिनमा प्राप्त हुँदैन । त्यसका पछाडि वर्षौँको अभ्यास, अनगिन्ती त्याग, अटल धैर्य र लक्ष्यप्रतिको अविचल समर्पण लुकेको हुन्छ। नेपाली मूलका वरिष्ठ कराते प्रशिक्षक सिहान शान्त थोकरको जीवनयात्राले यही सत्यलाई प्रमाणित गरेको छ। करिब ४५ वर्षको अथक कराते यात्रापछि उनी अमेरिकामा करातेको प्रतिष्ठित सातौँ डान प्राप्त गर्ने पहिलो नेपाली बनेका छन्।

 

अमेरिकाको वासिङ्टन राज्यस्थित सियाटलमा सम्पन्न यूएसए नेसनल कराते-डो च्याम्पियनसिपका अवसरमा थोकरलाई उक्त सम्मान प्रदान गरिएको हो। कराते क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि पुर्‍याएको योगदान, प्रशिक्षण, नेतृत्व क्षमता तथा अन्तर्राष्ट्रिय स्तरमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै यूएसए नेसनल कराते-डो फेडेरेसनले उनलाई सातौँ डानबाट सम्मानित गरेको हो।

 यो सम्मानसम्म पुग्ने थोकरको यात्रा लामो, निरन्तर र प्रेरणादायी रह्यो। उनले सन् १९९७ को नोभेम्बरमा नेपाल सोतोकान कराते एसोसिएसन तथा सोही वर्षको डिसेम्बरमा जापान कराते एसोसिएसनबाट पहिलो डान प्राप्त गरेका थिए। त्यसपछि सन् २००० मा जापान कराते एसोसिएसनबाट दोस्रो डान, सन् २००३ को सेप्टेम्बरमा के.डब्लु.एच जापानबाट तेस्रो डान, सन् २००५ को अक्टोबरमा  फुनाकोशी सोतोकान कराते एसोसिएसन अमेरिका (एफएसकेए) बाट चौथो डान प्राप्त गरे।

 

त्यसपश्चात् इन्टरनेसनल मार्सल आर्ट्स एसोसिएसन (आईएमएए) यूएसएबाट उनले क्रमशः सन् २००८ मा चौथो डान, सन् २०१३ मा पाँचौँ डान र सन् २०१६ मा छैटौँ डान हासिल गरे। ती सबै उपलब्धिलाई पार गर्दै उनले अहिले सातौँ डानको सम्मान प्राप्त गरेका हुन्।

 

सातौँ डान प्राप्त गरेपछि थोकरले यो सम्मान आफ्नो लामो साधना, निरन्तर मेहनत र समर्पणको प्रतिफल भएको बताए। उनले यो उपलब्धि व्यक्तिगत सफलता भन्दा पनि सम्पूर्ण नेपाली कराते समुदायका लागि गर्व र गौरवको विषय भएको उल्लेख गरे।

 दोलखाको चरिकोटबाट सुरु भएको थोकरको कराते यात्रा उच्च शिक्षाका लागि काठमाडौं आएपछि अझ व्यवस्थित बन्यो। उनी पशुपति वनकाली डोजोमा औपचारिक प्रशिक्षणमा आबद्ध भए। कराते गुरु भीम लामा र मानवबहादुर तामाङको मार्गदर्शनमा उनले करातेलाई केवल खेलका रूपमा होइन, जीवनको साधनाका रूपमा आत्मसात् गर्दै अघि बढे।

 ब्ल्याक बेल्ट हासिल गरेपछि प्रशिक्षकका रूपमा सक्रिय रहेका थोकरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण र कांस्य पदकसमेत जिते। त्यसपछि जापानी प्रशिक्षकहरूसँग थप प्रशिक्षण लिँदै उनले शोतोकान करातेको गहिरो अध्ययनलाई निरन्तरता दिए।

 करिब ४५ वर्षभन्दा लामो कराते यात्रामा थोकरले पहिलोदेखि सातौँ डानसम्मको यात्रा पूरा गरेका छन्। करातेमा ब्ल्याक बेल्टपछिका उच्च तहलाई ‘डान’ भनिन्छ। सामान्यतया पहिलोदेखि दशौँ डानसम्मको व्यवस्था हुन्छ। सातौँ डानलाई अनुभवी गुरु वा मास्टर तहको मान्यता दिइन्छ, जसका लागि लामो अभ्यास, प्रशिक्षण अनुभव, कराते दर्शनको गहिरो ज्ञान तथा खेल विकासमा उल्लेखनीय योगदान आवश्यक मानिन्छ।


 थोकर सन् २००७ देखि अमेरिकाको न्युयोर्कमा कराते विद्यालय सञ्चालन गर्दै आएका छन्। अमेरिकामा कराते विद्यालय स्थापना गर्ने पहिलो नेपालीमध्ये एकका रूपमा परिचित उनले प्रतियोगिता आयोजना, खेलाडी उत्पादन तथा कराते प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। हाल उनी आईएमए निहोन कराते-डो यूएसएका अध्यक्ष तथा मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन्।

 सिहान शान्त थोकरको सातौँ डान प्राप्ति व्यक्तिगत सफलतामा मात्र सीमित छैन। यो उपलब्धिले विश्व मञ्चमा नेपाली करातेको क्षमता, नेपाली प्रशिक्षकको समर्पण र नेपाली पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको छ। वर्षौँको साधनाले सम्भव बनाएको यो इतिहास भावी पुस्ताका लागि प्रेरणाको उज्यालो उदाहरणका रूपमा रहने विश्वास गरिएको छ।

प्रतिक्रिया