काठमाडौं - उचित मूल्य नपाएको भन्दै किसानहरूले सडकमै गोलभेँडा फालेर विरोध जनाएका छन्
। यो दृश्य केवल किसानको आक्रोश मात्र होइन, नेपालको कृषि बजार व्यवस्थापनको कमजोर अवस्थाको प्रतिबिम्ब पनि
हो।
हरेक वर्ष सिजनमा गोलभेँडालगायत तरकारीको उत्पादन अत्यधिक हुन्छ। उत्पादन बढेपछि बजारमा मूल्य एकाएक घट्छ र किसानले उत्पादन लागतसमेत उठाउन नसक्ने अवस्था सिर्जना हुन्छ। अन्ततः महिनौँको मेहनत सडकमा फाल्नुपर्ने बाध्यता आउँछ। अर्कोतर्फ, यही तरकारी अफसिजनमा भने उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था दोहोरिन्छ।
यस्तो समस्या समाधानका लागि सरकार केवल तत्कालीन राहतमा सीमित नभई दीर्घकालीन कृषि नीति लागू गर्न आवश्यक छ। सिजनमा उत्पादन बढी हुँदा सरकारले किसानबाट उचित मूल्यमा तरकारी खरिद गर्ने, आधुनिक कोल्ड स्टोर तथा प्रशोधन केन्द्रमा सुरक्षित भण्डारण गर्ने र आवश्यकताअनुसार अफसिजनमा बजारमा बिक्री तथा वितरण गर्ने व्यवस्था गर्न सके किसानले पनि उचित मूल्य पाउने र उपभोक्ताले पनि सहज मूल्यमा तरकारी पाउने अवस्था सिर्जना हुन सक्छ।
कृषि उत्पादनलाई बजारसँग जोड्ने प्रभावकारी नीति, भण्डारण पूर्वाधारको विस्तार र मूल्य स्थिरीकरणको संयन्त्र विकास नगरेसम्म किसानले आफ्नो पसिनाको उचित मूल्य नपाउने र यस्ता विरोधका घटना दोहोरिरहने सम्भावना रहन्छ। किसानको उत्पादन सडकमा फालिने होइन, व्यवस्थित बजार र भण्डारण प्रणालीमार्फत राष्ट्रिय सम्पत्तिका रूपमा संरक्षण गरिनु आजको आवश्यकता हो।