काठमाडौं- कोशी प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर बुधबार विवाद थप चर्किएको छ। प्रतिपक्षी दलहरूको अवरोधबीच सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन अघि बढाउन खोजेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोस्ट्रममा पुगेका थिए।
रोस्ट्रममा पुगेका राईले माइक उखेलेर फाल्ने प्रयास गरेपछि मर्यादापालकहरूले हस्तक्षेप गर्दै उनलाई रोकेका थिए। त्यसपछि उनलाई रोस्ट्रमबाट तल झारिएको थियो। घटनापछि सभामुख विष्टले सांसदहरूलाई मर्यादित व्यवहार गर्न आग्रह गरेका थिए।
प्रतिपक्षी दलहरूले मंगलबारको बैठकमै नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्न समय नदिई पारित गरिएको भन्दै विरोध जनाउँदै आएका छन्। बुधबार पनि विरोध जारी रहेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।
यसअघि मंगलबार बसेको प्रदेशसभा बैठकमा विपक्षीको अवरोधका कारण सरकारले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न सकेको थिएन। विवादको मुख्य विषय भने सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियामै केन्द्रित रहेको छ।
प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गतको छैटौँ बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए। झण्डै एक घण्टा जवाफ दिएपछि सभामुख विष्टले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए। सदनबाट ‘हुन्छ’ भन्ने आवाज आएपछि उनले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका थिए।
तर, उक्त घोषणालगत्तै नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा पूर्वमुख्यमन्त्री राईले आपत्ति जनाएका थिए। उनीहरूले संशोधन प्रस्ताव दर्ता गर्ने अवसर नै नदिई नीति तथा कार्यक्रम पारित गरिएको भन्दै विरोध गरेका छन्।
१४ जेठ २०८३, बुधबार ०३:२० मा प्रकाशित