विश्वकप २०२६: ब्राजिल, फ्रान्स, अर्जेन्टिना र इंग्ल्यान्ड उपाधि दौडमा, जर्मनी बाहिरिएपछि प्रतियोगिता थप रोमाञ्चक

Tsheringma Sherpa

काठमाडौं- फिफा विश्वकप २०२६ नकआउट चरणमा प्रवेशसँगै उपाधिको प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ। फुटबलका परम्परागत शक्तिशाली टोली ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, स्पेन र पोर्चुगल उपाधि जित्ने प्रमुख दाबेदारका रूपमा अघि बढिरहेका छन् ।

हालसम्मका खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै आफ्नो उपाधि यात्रालाई निरन्तरता दिएको छ। यता जर्मनी भने पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै अर्को ठूलो उलटफेर गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।

आज फ्रान्सले स्विडेनसँग, आइभोरी कोस्टले नर्वेसँग तथा मेक्सिकोले इक्वेडरसँग प्रतिस्पर्धा गर्दैछन्। यी खेलहरूबाट क्वार्टरफाइनल यात्रा तय गर्ने टोलीहरूको चित्र थप स्पष्ट हुनेछ।

४८ टोली सहभागी यस संस्करणमा बलिया टोलीहरूबीचको कडा प्रतिस्पर्धासँगै केही अप्रत्याशित नतिजाले पनि विश्व फुटबल समर्थकको ध्यान तानेका छन्। अब प्रत्येक खेल जित वा घर फर्किने अवस्थाको भएकाले दबाबसँगै रोमाञ्च पनि चरममा पुगेको छ।

विश्वभरका करोडौं समर्थकको नजर अब नकआउट चरणका बाँकी खेल र अन्ततः विश्व फुटबलको नयाँ च्याम्पियन को बन्छ भन्ने प्रश्नमा केन्द्रित छ।

प्रतिक्रिया