प्रतिनिधिसभामा सांसदहरूको सरकारको ध्यानाकर्षण, उद्योगदेखि खानेपानी र वैदेशिक रोजगारसम्मका विषय उठे

Tsheringma Sherpa

काठमाडौं - प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सांसदहरूले साना तथा मझौला उद्योगको प्रवर्द्धन, स्वास्थ्य सेवा, कृषि, खानेपानी, सडक, वैदेशिक रोजगार, विपद् व्यवस्थापन, विद्युत् विस्तार तथा जङ्गली हात्ती नियन्त्रणलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

 बैठकमा बोल्दै सांसदहरूले सार्वजनिक स्थानमा धुम्रपान निषेधसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन, सीमा भन्सारको स्तरोन्नति, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क पुनरावलोकन तथा वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे।

 सांसद अनुष्का श्रेष्ठले मुलुकको अर्थतन्त्रमा साना तथा मझौला उद्योगको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै यस्ता उद्योगलाई सरकारी सहयोग, सीप विकास तालिम र नीतिगत सहजीकरण आवश्यक रहेको बताइन्। अभिषेकप्रताप शाहले लुम्बिनी प्रदेशस्थित कृष्णनगर भन्सारको स्तरोन्नतिको माग गरे भने अम्बिकादेवी सङ्ग्रौलाले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले स्वास्थ्य संस्थाको नियमित अनुगमन हुनुपर्ने धारणा राखिन्।

   सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे।  सांसद आकृति अवस्थीले सार्वजनिक स्थानमा धुम्रपान गर्नेमाथिको कानुनी कारबाही प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

 कृषि क्षेत्रबारे सांसद आनन्दबहादुर चन्दले माटो परीक्षण र रासायनिक मलको वैज्ञानिक प्रयोगसम्बन्धी तालिम आवश्यक रहेको बताए। आरेन राईले खोटाङ–भोजपुर सडकखण्ड पुनर्निर्माणको माग गरे भने आशा झाले साना संस्थामा पूर्ण लेखापरीक्षण अनिवार्य गर्ने व्यवस्था पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याइन्। आशिष गजुरेलले विकास निर्माणका लागि छुट्याइएको बजेट प्रभावकारी रूपमा खर्च गर्नुपर्ने बताए।

 यसैगरी सांसद आशिका तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क घटाउन आग्रह गरिन्। उत्तमप्रसाद पौडेलले सार्वजनिक यातायातलाई अपाङ्गतामैत्री बनाउनुपर्ने बताए भने एशुदाकुमारी बरालले कर्णालीका सडक यातायातलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराइन्। ओजस्वी शेरचनले सबै नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखिन्।

  सांसद कमल सुवेदीले वैदेशिक रोजगारीमा जाने नेपाली ठगीमा पर्ने घटना बढ्दै गएको उल्लेख गर्दै कडा नियमन आवश्यक रहेको बताए। करिष्मा कठरियाले धान रोपाइँको समयमा किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउन माग गरिन्।

 सांसद कविन्द्र बुर्लाकोटीले गोरखाका केही क्षेत्रमा धारा भए पनि पानी नआउने समस्या समाधान गर्न सरकारसँग आग्रह गरे भने कामिनी कुमारीले जलेश्वर अस्पतालको स्तरवृद्धि गर्न माग गरिन्। कुलभक्त शाक्यले मेलम्ची खानेपानी आयोजना बन्द भएपछि काठमाडौं उपत्यकामा देखिएको खानेपानी अभाव समाधानका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए।

 सिंहदरबारभित्र रहेका राष्ट्रिय सम्पत्तिको सुरक्षा सुदृढ बनाउन कुसुम महर्जनले सरकारको ध्यानाकर्षण गराइन्। खगेन्द्र कर्णले जङ्गली हात्तीको आक्रमणबाट हुने जनधनको क्षति रोक्न दीर्घकालीन योजना ल्याउन आग्रह गरे भने खडकबहादुर बुढाले कर्णाली प्रदेशमा विद्युत् पहुँच विस्तार गर्न माग गरे।

 बैठकमा सांसद गजाला शमीम मिकरानीले मध्य वर्षायाम सुरु भइसकेकाले सम्भावित प्राकृतिक विपद्को सामना गर्न पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिइन्।

प्रतिक्रिया