काठमाडौं, असार १७- त्रिभुवन विश्वविद्यालय (TU) ले अध्ययन बिदा लिएर तोकिएको समयपछि पनि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन अन्तिम अवसर दिएको छ।
टीयूको अध्ययन बिदा व्यवस्थापन तथा
कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदापछि सेवामा नफर्किएका वा
सम्झौताअनुसार अनिवार्य सेवा अवधि पूरा नगरेकाहरूलाई तोकिएको समयभित्र सम्पर्कमा आउन
आग्रह गरेको हो। समयसीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग भएको सम्झौता तथा प्रचलित
नियमअनुसार कानुनी प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।
समितिका अनुसार हालसम्म अध्ययन बिदाको
दुरुपयोग गरेका ५० जना प्राध्यापकले रु. ११ करोड ८४ लाखभन्दा बढी रकम विश्वविद्यालयलाई
फिर्ता गरिसकेका छन्। बाँकी व्यक्तिबाट पनि रकम असुली प्रक्रिया जारी रहने विश्वविद्यालयले
जनाएको छ।
विश्वविद्यालयका अनुसार अध्ययन बिदा
उच्च शिक्षित तथा अनुसन्धानमुखी जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने सुविधा
हो। तर केही प्राध्यापकले अध्ययन सकेपछि सेवामा नफर्कँदा विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा संस्थागत
क्षति पुगेको निष्कर्ष निकालिएको छ।
अनुसन्धान समितिको प्रारम्भिक विवरण
अनुसार अध्ययन बिदा दुरुपयोगका ३९८ वटा घटना फेला परेका छन्। तीमध्ये १९१ जना सेवामा
नै नफर्किएको र २०७ जनाले सम्झौताअनुसार सेवा अवधि पूरा नगरेको उल्लेख गरिएको छ। विश्वविद्यालयले
यसबाट २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जनाएको छ।