वर्षापछि मुहानमा बाढी पसेपछि काठमाडौंमा मेलम्चीको पानी आपूर्ति बन्द

nepalnewsline.com

काठमाडौं, असार १९- लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी र अत्यधिक धमिलो पानी प्रवेश गरेपछि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति अस्थायी रूपमा रोकिएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार मुहानमा पानीको धमिलोपन अत्यधिक बढेपछि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रभावकारी रूपमा प्रशोधन गर्न कठिन भएको हो। यही कारण शुक्रबारदेखि मेलम्चीबाट आउने पानीको प्रवाह अस्थायी रूपमा बन्द गरिएको हो।

केयुकेएलका प्रवक्ता वीरबहादुर चन्दले मुहानको पानीको गुणस्तर सामान्य अवस्थामा फर्किएपछि प्रशोधन प्रक्रिया पुनः सञ्चालन गरिने र त्यसपछि नियमित वितरण तालिकाअनुसार उपत्यकामा खानेपानी आपूर्ति सुरु गरिने जानकारी दिएका छन्।

निरन्तर वर्षा जारी रहेमा मुहानमा धमिलो पानीको मात्रा बढिरहन सक्ने भएकाले नियमित आपूर्ति पुनः सुरु हुन केही समय लाग्न सक्ने केयुकेएलको भनाइ छ। यस अवधिमा मेलम्चीको पानीमा निर्भर रहेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा खानेपानी वितरण प्रभावित हुने अनुमान गरिएको छ।

मेलम्ची खानेपानी आयोजना काठमाडौं उपत्यकाको प्रमुख खानेपानी स्रोतमध्ये एक हो। वर्षायाममा बाढी, पहिरो तथा मुहानमा बढ्ने धमिलोपनका कारण आयोजना समय-समयमा प्रभावित हुने गरेको छ।

प्रतिक्रिया