डोल्पामा बाढीको कहर: एक महिलाको मृत्यु, ६ जना घाइते, १० घरमा क्षति

nepalnewsline.com

डोल्पा- अविरल वर्षापछि डोल्पाको जगदुल्ला गाउँपालिका-५ स्थित गैरीगाउँमा आएको आकस्मिक बाढीले एक महिलाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। बाढीका कारण स्थानीय बस्तीमा मानवीय तथा भौतिक दुवै क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ।

प्राप्त विवरणअनुसार बाढी बस्तीमा प्रवेश गर्दा घरभित्र रहेकी ५६ वर्षीया आनन्दी बिक गम्भीर घाइते भएकी थिइन्। स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थातर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको बताइएको छ।

घटनामा चौरी बिक, रेउली बिक, विष्णु बिक, निरुता बिक, सीता बिक र जस बिक घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल पठाउने तयारी गरिएको जनाइएको छ।

बाढीका कारण कम्तीमा १० वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्य घरमा आंशिक क्षति पुगेको छ। स्थानीय सडक, पैदलमार्ग तथा खेतीयोग्य जमिनमा समेत असर परेको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रशासनले जनाएको छ।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय प्रशासनको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। उद्धार, राहत वितरण र जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ।

मनसुन सक्रिय रहेकाले कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लामा बाढी र पहिरोको जोखिम अझै उच्च रहेको छ। मौसममा सुधार नआएसम्म नदी तथा खोलानालाको आसपास नजान, अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासनका सूचना पालना गर्न सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्।

स्रोत: जिल्ला प्रशासन कार्यालय डोल्पा, जिल्ला प्रहरी कार्यालय डोल्पा तथा सम्बन्धित सुरक्षा निकायबाट प्राप्त विवरण।

प्रतिक्रिया