सगरमाथाको उत्तरी रुट हुँदै शिखरतर्फ उक्लिरहेका पर्वतारोहीहरू एउटा स्थानमा पुगेर केही सेकेन्डका लागि अनिवार्यजस्तै रोकिन्थे ।
त्यहाँ कुनै बोर्ड थिएन ।
कुनै क्याम्प थिएन ।
तर चट्टानको ओडारभित्र एउटा शव थियो, चम्किला हरिया जुत्ता लगाएको र संसारले त्यसलाई
नाम दिएको थियो ‘ग्रीन बुट’ ।
सन् १९९६ मे १० मा सगरमाथा माथि मौसमले अचानक मृत्युको रूप लियो
। आकाश
कालो भयो,
हावाले हिंस्रक गति समात्यो, अनि ८ हजार मिटरभन्दा माथिको ‘डेथ जोन’ हिउँ र अन्धकारले भरियो
।
त्यही दिन भारतको शक्ति गाउँका २८ वर्षीय पर्वतारोही छेवाङ पाल्जोर
आफ्ना साथीहरूसँग इन्डो-तिब्बत
बोर्डर पुलिस (ITBP) को टोलीबाट सगरमाथा आरोहण गरिरहेका थिए ।
शिखर नजिक पुग्दै गर्दा उनीहरू हिमआँधीमा फसे ।
अक्सिजन लगभग सकिँदै थियो ।
शरीर सुस्त बन्दै थियो । एक-एक पाइला
चाल्न पनि जीवनको अन्तिम प्रयासजस्तो भइरहेको थियो ।
त्यसपछि उनीहरूले ८,५०० मिटर उचाइमा रहेको एउटा चट्टानी गुफामा आश्रय लिए ।
तर त्यो आश्रय जीवन बचाउन पर्याप्त भएन ।
त्यहीँ, कठ्याङ्ग्रिँदो चिसो र अक्सिजन अभावसँग जुध्दै छेवाङ पाल्जोरको
मृत्यु भयो । समय बित्दै जाँदा उनको शव सगरमाथाको सबैभन्दा चर्चित र भयावह प्रतीकमध्ये एक बन्यो
।कारण थियो-उनका हरिया ‘Koflach’
जुत्ता ।
उत्तरी रुट हुँदै जाने आरोहीहरूले ती जुत्ता टाढैबाट देख्थे
। कसैले
नजर फर्काउँथे ।
कसैले मौन प्रार्थना गर्थे । कसैले त्यो दृश्यलाई “सगरमाथाको अन्तिम चेतावनी” भन्ने गरेका
थिए ।
सगरमाथाको त्यो उचाइमा मृत शरीर झार्नु लगभग असम्भवजस्तै मानिन्छ
। एक शव
झार्न दर्जनौँ शेर्पा, ठूलो जोखिम र हजारौँ डलर खर्चिनुपर्ने हुन्छ । त्यसैले धेरै शवहरू वर्षौँसम्म हिमालमै
रहन्छन् । छेवाङ पाल्जोरको शरीर पनि करिब १८ वर्षसम्म त्यहीँ रह्यो ।
“ग्रीन बुट नाघ्यौ भने शिखर धेरै टाढा छैन”
,
यो वाक्य एक समय पर्वतारोहीहरूमाझ सामान्य मार्ग-संकेत बनेको थियो ।
तर सन् २०१४ पछि अचानक त्यो शव त्यहाँ देखिन छाड्यो ।
कतिपयले उनको शरीरलाई सम्मानपूर्वक अन्यत्र सारिएको अनुमान गरे
। कतिले
ढुङ्गाले पुरिएको हुनसक्ने बताए ।
तर वास्तविक सत्य आजसम्म रहस्यमै छ ।
‘ग्रीन बुट’ केवल एउटा शवको नाम होइन ।
यो सगरमाथाको कठोर यथार्थ हो ।
जहाँ मानिसले आफ्नो सपनाको मूल्य कहिलेकाहीँ आफ्नै जीवनले चुकाउँछ
।
सन् १९९६ को त्यही भीषण हिमआँधीमा छेवाङ पाल्जोरका साथीहरू छेवाङ
स्मान्ला र दोर्जे मोरुपको पनि मृत्यु भएको थियो । त्यही घटनामा विश्वप्रसिद्ध पर्वतारोही
रब हल र स्कट फिसरसहित आठ जनाले ज्यान गुमाएका थिए ।
आज पनि ‘ग्रीन बुट’को कथा सगरमाथाको हिउँभित्र कतै जीवित छ ।
मानव साहस, महत्वाकाङ्क्षा र प्रकृतिको निर्मम शक्तिबीचको सबैभन्दा चिसो
सम्झनाका रूपमा ।