गर्मीमा डिहाइड्रेसन हुन नदिन अपनाउनुपर्ने ७ सावधानी

Tsheringma Sherpa

काठमाडौं-  देशका विभिन्न स्थानमा तापक्रम बढ्दै जाँदा डिहाइड्रेसन (शरीरमा पानीको कमी) हुने जोखिम पनि बढ्न थालेको छ। अत्यधिक गर्मीका कारण धेरै पसिना बग्दा शरीरबाट पानीसँगै आवश्यक लवण पनि बाहिरिने भएकाले समयमै सावधानी अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।

स्वास्थ्य विज्ञहरूका अनुसार शरीरमा पानीको कमी हुँदा अत्यधिक तिर्खा लाग्ने, मुख सुक्ने, टाउको दुख्ने, चक्कर लाग्ने, थकान महसुस हुने, पिसाब कम हुने तथा गम्भीर अवस्थामा बेहोससमेत हुन सक्ने जोखिम रहन्छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा लामो समय घाममा काम गर्ने व्यक्तिहरू बढी जोखिममा रहने भएकाले उनीहरूले थप सतर्कता अपनाउनुपर्ने विज्ञहरूको भनाइ छ।

गर्मीमा डिहाइड्रेसन हुन नदिन अपनाउनुपर्ने ७ सावधानी

१. पर्याप्त पानी पिउनुहोस्:

तिर्खा लागेपछि मात्र होइन, दिनभरि नियमित रूपमा पर्याप्त पानी पिउने बानी बसाल्नुहोस्।

२.झोलिलो तथा पानीको मात्रा बढी भएका खानेकुरा खानुहोस्:

दाल, झोल, दही, काँक्रो, तरबुजा, खरबुजा, सुन्तला लगायत पानीको मात्रा बढी भएका फलफूल तथा खानेकुरा सेवन गर्नुहोस्।

३.चर्को घामबाट जोगिनुहोस्:

विशेषगरी बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कनुहोस्। बाहिर जानै परे छाता, टोपी वा क्यापको प्रयोग गर्नुहोस्।

४.हल्का र सुतीका कपडा लगाउनुहोस्:

गर्मीमा हल्का र सुतीका कपडा लगाउँदा शरीरलाई चिसो महसुस हुन्छ र पसिना पनि सहज रूपमा सुक्न मद्दत पुग्छ।

५.कफी, धेरै चिया, कोला र इनर्जी ड्रिंकको अत्यधिक सेवन नगर्नुहोस्:

गर्मीमा कफी, धेरै चिया, कोला तथा इनर्जी ड्रिंकजस्ता पेय पदार्थको अत्यधिक सेवन गर्नुको सट्टा पर्याप्त सादा पानी, ओआरएस, नरिवलको पानी वा झोलिलो पदार्थ पिउनु लाभदायक हुन्छ।

६.घाममा लामो समय काम गर्दा बीच–बीचमा आराम गर्नुहोस:

बाहिर काम गर्नुपर्ने अवस्था भए केही समय छायाँमा बसेर आराम गर्ने र नियमित रूपमा पानी पिउने बानी बसाल्नुहोस्।

७. डिहाइड्रेसनका लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्:

लगातार चक्कर लाग्ने, अत्यधिक कमजोरी हुने, बारम्बार बान्ता हुने, बेहोस हुने वा पिसाब अत्यन्तै कम हुने जस्ता लक्षण देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुगेर चिकित्सकको परामर्श लिनुहोस्।

स्वास्थ्य विज्ञहरूका अनुसार गर्मीको समयमा सानो लापरबाहीले पनि स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसैले पर्याप्त पानी पिउने, सन्तुलित आहार खाने, चर्को घामबाट जोगिने र शरीरमा पानीको कमी हुन नदिने बानी अपनाएमा डिहाइड्रेसन लगायत गर्मीजन्य स्वास्थ्य समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ।

प्रतिक्रिया