नेपाल सुपर लिगमा आज पोखरा र काठमाण्डौ तथा धनगढी र ललितपुर खेल्दै

काठमाण्डौ  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदै छन् । आज पोखरा थन्डर्स र काठमाण्डौ रेजर्स तथा धनगढी एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ । पोखरा र काठमाण्डौको खेल दिउँसो साढे २ बजे तथा धनगढी र ललितपुरको खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा हुनेछ ।

सात टोली सहभागी प्रतियोगितामा चितवन एफसी लगातार दोस्रो जीतसहित ६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा पराजित पोखरा अङ्कविहिन रहँदै पुछारमा छ ।

दुई खेल नै बराबरी खेलेको काठमाण्डौ दुई अङ्कसहित चौथो स्थानमा छ । त्यस्तै साविक विजेता ललितपुर एक बराबरी र एक जीतसहित चार अङ्कका साथ दोस्रो स्थानमा छ ।

एउटा खेल खेलेको धनगढी जीतसहित तीन अङ्कका साथ तेस्रो स्थानमा छ । दुई खेल बराबरी खेलेको झापा पाँचौं र तीन खेल खेलेको बुटवल लुम्बिनी एक बराबरी र दुई हारसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया