नेपाल सुपर लिगमा धनगढी एफसी र ललितपुर सिटीको खेल बराबरी

काठमाण्डौ  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा हिजो भएको दोश्रो खेलमा धनगढी एफसी र ललितपुर सिटीले बराबरी खेलेका छन् । दशरथ रङ्कशालामा भएको खेलमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो । दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । धनगढी दुई खेलमा चार अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ । समान खेलमा पाँच अङ्कसहित ललितपुर दोश्रो स्थानमा छ ।

यस्तै पहिलो खेलमा पोखरा थन्डर्सले काठमाण्डौ रेजर्सलाई २–० गोलले हराएको छ । दशरथ रङ्गशालामा काठमाण्डौलाई हराउँदै पोखराले पहिलो जीत निकालेको हो । पोखराका लागि स्टेफेन समिर बिनोङ र एलिजोन एलिजोनोभले एक–एक गोल गरे । जीतसँगै पोखरा तीन खेलमा तीन अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलमा २ अङ्कसहित काठमाण्डौ छैटौं स्थानमा छ ।

सात टोली सहभागी प्रतियोगितामा चितवन एफसी दुई खेलमा छ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा दुई अङ्कसहित झापा एफसी पाचौं स्थानमा छ भने तीन खेलमा एक अङ्कसहित बुटवल लुम्बिनी एफसी तालिकाको पुछारमा छ । 

प्रतिक्रिया